कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी हर्क बहादुर विकका तीन सन्तान विगत करिब ८ वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। २५ वर्षीया छोरी उत्तरा विक, २३ वर्षीय रमेश विक र २१ वर्षीय सुभास विक गम्भीर अपाङ्गताबाट पीडित छन्, जसले गर्दा परिवारको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको छ।
परिवारका अनुसार २०७५ सालदेखि सुरु भएको स्वास्थ्य समस्याको हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। विभिन्न ठाउँमा उपचारको प्रयास गरिए पनि आर्थिक अभावका कारण निरन्तर उपचार सम्भव हुन सकेको छैन। सामान्य हिँडडुल समेत गर्न नसक्ने अवस्थाले उनीहरूको जीवन झन् कठिन बन्दै गएको छ भने परिवार समेत मानसिक र आर्थिक रूपमा थलिएको छ।
सोमबार कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सिंह महताले पीडित परिवारलाई भेटी अवस्थाबारे जानकारी लिएका छन्। उनले विक दिदी–भाइहरूको उपचारका लागि सम्बन्धित निकायसँग सहकार्य गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, सामाजिक संस्था एनएनएसडब्लुए सँग पनि समन्वय गर्न आग्रह गरेका छन्।
पीडित परिवारले राज्यका सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवाला सबैसँग उचित बसोबासको व्यवस्था र प्रभावकारी उपचारको व्यवस्था गरिदिन हार्दिक अपिल गरेका छन्। उनीहरूको पीडाले राज्यको ध्यान आकृष्ट गर्ने अपेक्षा गरिएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।