कञ्चनपुर, जेठ २५ गते
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको हायस अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना आइतबार दिउँसो करिब साढे ३ बजेतिर भएको हो।
दुर्घटनामा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका गरी १३ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने नौ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मध्यम घाइते हुनेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरियाका ४३ वर्षीय पुष्कर राज गिरी, बेदकोट नगरपालिका–१० नयाँगाउँका २० वर्षीय जीवन सिंह कडाल, टिकापुर नगरपालिका–९ खैरीफाटाकी ४५ वर्षीया राधा देवी शाह तथा धनगढी उपमहानगरपालिका–५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह रहेका छन्।
यस्तै सामान्य घाइते हुनेहरूमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ६१ वर्षीया सरस्वती देवी कुँवर, धनगढी–६ हसनपुरका ५५ वर्षीय विष्णु सिंह, उत्तरबेहडीकी १७ वर्षीया आंशिका कुँवर र १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका–१ फापरीका ६० वर्षीय गजेन्द्र सिंह कुँवर र ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडमकी ५५ वर्षीया ईश्वरी देवी भुल, २२ वर्षीय सुनील भुल तथा अजयमेरु गाउँपालिका–६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त रहेका छन्।
दुर्घटनालगत्तै प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। सबै घाइतेलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका बेला हायसमा चालकसहित १७ जना सवार थिए। हायस चालक बेदकोट नगरपालिका–९ सुन्दरपुरका २८ वर्षीय हेम जोशीलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनाग्रस्त हायस घटनास्थलमै रहेको तथा महेन्द्र राजमार्गमा यातायात सञ्चालन सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।