फागुन २१ को चुनावका लागि ११४ दललाई निर्वाचन चिन्ह, मतपत्रमा १०७ प्रतीक राखिने

प्रकाशित:

कञ्चनपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगले दर्ता तथा छानबिन प्रक्रिया पूरा गरी ११४ दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगमा हाल १४३ दल दर्ता छन्, तर चुनावमा भाग लिन १२० दलले निवेदन दिएका थिए। छानबिनपछि ११४ दल मात्र योग्य ठहरिए भने १३ दलका निवेदन विभिन्न कारणले खारेज वा फिर्ता भए।

आगामी चुनावमा १०२ दल आफ्नै चिन्ह प्रयोग गर्छन्। त्यस्तै पाँच समूहमा रहेका १२ दलले एउटै चिन्ह लिएर प्रतिस्पर्धामा उत्रनेछन्। आयोगका अनुसार मतपत्रमा यस पटक १०७ वटा चिन्ह रहनेछन्, जसले मतपत्रलाइँ अझ ठूलो बनाउनेछ।

आयोगले २०७९ सालको समानुपातिक मतका आधारमा ११ दलको क्रमाङ्क पहिले नै तोकेको छ।

१ नम्बरमा एमालेको सूर्य, २ नम्बरमा कांग्रेसको रूख र ३ नम्बरमा नेकपाको पाँचकुने तारा छन्।

४ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी, ५ मा राप्रपाको हलो, ६ मा जसपाको ढल्केको छाता, ७ मा जनमत पार्टीको भोंग्रो, ८ मा नागरिक उन्मुक्ति पार्टीको ढकिया, ९ मा लोसपाको साइकल, १० मा नेपाल मजदुर किसान पार्टीको मादल र ११ मा राष्ट्रिय जनमोर्चाको गिलास राखिएको छ।

१२ नम्बरदेखि नयाँ दलका चिन्हहरूको क्रम सुरु हुन्छ।
१२ नम्बरमा देश विकास पार्टीको लौरो, १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुला आँखा राखिएको छ।
नयाँ र चर्चा बटुलेका दलमध्ये ३३ नम्बरमा राष्ट्रिय परिवर्तन पार्टीको बासुरी, ५१ नम्बरमा श्रम संस्कृति पार्टीको अँजुलीभित्र राखिएको माटो, ५७ नम्बरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) को चिन्ह उल्लेखनीय छन्।

यस्तै ६४ नम्बरमा उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा समुन्नत नेपाल पार्टीको महिला र पुरुषले हात मिलाएको चित्र, १०० नम्बरमा हाम्रो नेपाल पार्टीको गोलाकारभित्र उठाइएको औँठा (लाइक आकृति) र अन्तिम १०७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी राखिएको छ।

यसैबीच, तीन दलको निवेदन प्रक्रिया खारेज भएकोछ। जनजागरण पार्टीले निवेदन स्वयं फिर्ता लिएको छ भने जनप्रजातान्त्रिक पार्टी र अखण्ड सुदूरपश्चिम पार्टीको निवेदन आयोगले खारेज गरेको छ। नेतृत्वको वैधता प्रमाणित नभएकाले र अघिल्लो जरिवाना नतिरेकाले यी दल आगामी फागुन २१ को चुनावमा सहभागी हुन नपाउने आयोगले स्पष्ट पारेको छ।

चुनावी प्रतिस्पर्धामा सहभागी दलहरूको व्यापक संख्या, नयाँ चिन्हहरूको आकर्षण र संयुक्त चिन्हमा उत्रने समूहहरूको सहभागिताले यसपालिको चुनाव झनै रोचक हुने देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार