हेमा भट्ट
बैतडी, साउन १२
बैतडीको दशरथचन्द नगरपालिका-५ औँला (कोहलपुर टोल) मा मध्यराति एक घर भत्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। स्थानीय केशव राम कोलीको कच्ची घर २०८३ साउन १० गते राति करिब १:३० बजे एक्कासि भत्किएको हो। 
घटनाको जानकारी बिहान करिब ६ बजे प्राप्त हुनासाथ थालिगडा प्रहरी चौकीका इन्चार्जसहित प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीको उद्धार टोली तथा स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। सूचना प्राप्त भएको करिब १५ मिनेटभित्रै सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य थालेपछि घरभित्र रहेका परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ।
दशरथचन्द नगरपालिका-५ का वडा अध्यक्ष केशव लेखकका अनुसार समयमै गरिएको उद्धारका कारण कुनै मानवीय क्षति हुन पाएन। तर घर भत्किँदा एक बाख्राको घटनास्थलमै मृत्यु भएको छ भने एउटा गाईको बाछाको खुट्टा भाँचिएको छ। अन्य केही गाईबाख्रालाई पनि सामान्य चोटपटक लागेको उहाँले जानकारी दिनुभयो।
हामीले बिहान करिब ६ बजे घटनाको जानकारी पायौँ। सूचना प्राप्त भएको १५ मिनेटभित्रै थालिगडा प्रहरी चौकीका इन्चार्जसहितको प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीको उद्धार टोली र स्थानीय जनप्रतिनिधि घटनास्थलमा पुग्यौँ। सबैको समन्वय र तीव्र उद्धारका कारण ठूलो मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ,वडा अध्यक्ष लेखकले रैकवार खबर डट कमसँग भन्नुभयो।
उहाँका अनुसार प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। घटनापछि क्षतिको विवरण सङ्कलन गरिएको र आवश्यक राहत तथा पुनःस्थापनाका लागि स्थानीय सरकारबाट पहल भइरहेको उहाँले बताउनुभयो।
स्थानीयवासीका अनुसार केही दिनयताको लगातार वर्षा, कमजोर संरचना र जमिन भिजेका कारण घर भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत कारणबारे सम्बन्धित निकायले थप अध्ययन गर्ने जनाएको छ।
वडा अध्यक्ष लेखकले वर्षायाममा जोखिमयुक्त स्थानमा रहेका घरधुरीलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गर्नुभयो। उहाँले विपद्को समयमा सूचना दिन ढिलाइ नगर्न र सुरक्षाकर्मी तथा स्थानीय सरकारसँग तत्काल समन्वय गर्नसमेत सबै नागरिकलाई आग्रह गर्नुभयो।
यस घटनाले विपद्को समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र समुदायबीचको समन्वय तथा शीघ्र उद्धार कार्यको महत्वलाई पुनः उजागर गरेको छ। समयमै भएको उद्धारका कारण एउटा परिवार ठूलो दुर्घटनाबाट जोगिएको भन्दै स्थानीयवासीले उद्धारमा खटिएका सबै सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्।

