कञ्चनपुर फागुन १८
बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व होली खेलिँदैन। जिल्लाका अधिकांश स्थानमा उत्साहका साथ होली मनाइए पनि यहाँ भने ग्वाल्लेक केदारधामको ‘ओलो’ (देवताको इच्छा) का कारण होली नखेल्ने परम्परा रहिआएको छ।
साबिक गाल्लेक गाविसका पुराना नौ वडा (हाल: दशरथ चन्द नगरपालिका–९) भित्रका १७ गाउँ–टोलका करिब पाँच हजार बासिन्दा देउताकै मान्यताका कारण गाउँमै होली मनाउँदैनन्। वडा अध्यक्ष मोहनदेव जोशीका अनुसार गाउँमा रङ्ग खेल्ने, बाजा बजाउने र होली गाउने चलन छैन। यद्यपि, ग्वाल्लेकका बासिन्दा बाहिर गएर भने होली खेल्ने गरेका छन्।
२०२४ सालको घटना र किंवदन्ती
ग्वाल्लेकमा वि.सं. २०२४ सालमा एकपटक मात्र होली खेलिएको इतिहास भेटिन्छ। स्थानीय भाषा पाठशालामा भारतबाट आएका शिक्षकले विद्यार्थीहरूलाई जम्मा गरी होली खेलेको बताइन्छ। तर त्यसपछि गाउँमा असिना परेर अनिकाल परेको, शिक्षक बसेको कोठामा आगलागी भएको जस्ता अनिष्ट घटना घटेको किंवदन्ती प्रचलित छ। ग्वाल्लेक केदारका मुखिया शिवराज जोशीका अनुसार त्यसअघि र त्यसपछि गाउँमा कहिल्यै होली खेलिएको छैन।
गाउँमा रातो रङ्गलाई समेत विशेष सन्दर्भमा मात्र प्रयोग गरिन्छ। मानिसको मृत्यु हुँदा तिताखोलीमा रातो कात्रो ओढाइँदैन; घाटमा पुर्याउने बेला मात्र कात्रो ओढाउने चलन रहेको स्थानीयहरू बताउँछन्।
बैतडीमा तीन केदार
चार केदारमध्ये तीन केदार बैतडीमै रहेका छन्—ग्वाल्लेक केदार, श्रीकेदार र रौलकेदार। ध्वजकेदार भने भारतको पिथौरागढ जिल्लाको ओखला र अस्कोटमा अवस्थित छ। ग्वाल्लेकबाट ध्वजकेदार देख्न सकिन्छ। स्थानीयका अनुसार चार धाममध्ये गंगोत्री, यमुनोत्री र बद्रीनाथको दर्शन गर्ने परम्परा रहे पनि केदारनाथ जानु पर्दैन भन्ने मान्यता छ, किनकि ‘चार केदार’ यही क्षेत्रमै अवस्थित छन्।
बोल्ने ढुङ्गाको पूजा
ग्वाल्लेक केदार क्षेत्रमा “धज्या ढुङ्गा” नामक बोल्ने ढुङ्गाको पूजा गरिन्छ। गाउँमा कुनै अनिष्ट हुने संकेतका रूपमा धज्या ढुङ्गा बोल्ने जनविश्वास छ। स्थानीय भाषामा ‘धज्या’ शब्दको अर्थ बोलाउने भन्ने हुन्छ। विवाह गरेर ग्वाल्लेक भित्रिने नवदुलहीले आफ्नो पोतेबाट एक दाना निकालेर ढुङ्गामा चढाउने परम्परा छ। उक्त स्थानलाई ‘पोते हाल्ने सैनी’ भनिन्छ।
नेपाली मूलका भारतीय लेखक भवानीदत्त जोशी ‘पारखी’ले सन् १९७९ मा प्रकाशित यात्रा संस्मरण “स्वर्गादपी गरियसी” मा धज्या ढुङ्गाको उल्लेख गरेका छन्। उनले आफ्नो जन्मथलो बैतडी पुग्दा आमाले देखाएको पहाडमा रहेको उक्त ढुङ्गा अन्याय हुँदा बोल्ने जनविश्वास रहेको वर्णन गरेका छन्।
धार्मिकसँगै पर्यावरणीय महत्त्व
समुद्री सतहबाट करिब २,७०० मिटर उचाइमा रहेको ग्वाल्लेक क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यावरणीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। सरकारले यस क्षेत्रलाई संरक्षित वनका रूपमा विकास गर्ने कार्ययोजना अघि बढाएको छ।
ग्वाल्लेक संरक्षित वनमा नेपालमै पाइने सिलङ्गोलगायत सतुवा, पाँचऔँले, पाखनवेद, सुगन्धवाल, चिराइतो, कौ–कौ, सिमजडी, बोजोलगायत ६५ भन्दा बढी जडीबुटी पाइन्छन्। साथै बाघ, कालो भालु, तित्रा, च्याखुरा र कालिजजस्ता वन्यजन्तुको बासस्थान पनि यही क्षेत्र हो।
यसरी केदारको ‘ओलो’ र स्थानीय धार्मिक विश्वासका कारण ग्वाल्लेक–९, जोशीबुङ्गा गाउँमा होली नखेल्ने अनौठो परम्परा आजसम्म कायम छ, जसले यो गाउँलाई सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान दिलाएको छ।
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।