खप्तड — प्रकृति, अध्यात्म र जैविक विविधताको अनुपम संगम
सुदूरपश्चिम नेपालको मुटुमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज प्रकृति, अध्यात्म, संस्कृति र जैविक विविधताको अनुपम संगमका रूपमा परिचित छ । हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका घना वनजंगल, हिमशृंखलाको मनोरम दृश्य, चिसो हावा, निर्मल दह र शान्त वातावरणले खप्तडलाई पृथ्वीको स्वर्गीय भूभागको अनुभूति गराउँछ । मानसिक थकान, तनाव र भीडभाडपूर्ण जीवनबाट केही समय टाढा रहन चाहनेका लागि खप्तड आत्मिक शान्ति र प्राकृतिक आनन्दको अद्वितीय गन्तव्य बनेको छ ।

पौराणिक तथा धार्मिक महत्त्व
पौराणिक मान्यताअनुसार पाण्डव राजा युधिष्ठिर यही मार्ग हुँदै स्वर्ग गएको विश्वास गरिन्छ । हिन्दु धर्मग्रन्थ स्कन्द पुराण मा खप्तडलाई “खेचराद्री” नामले उल्लेख गरिएको पाइन्छ । समयक्रमसँगै यही शब्द रूपान्तरण हुँदै “खप्तड” बनेको मानिन्छ ।
धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यस क्षेत्रमा त्रिबेणीधाम, सहर्षलिङ्ग, खापर दह, केदारढुङ्गा, नागढुङ्गा तथा खप्तड बाबा आश्रम जस्ता पवित्र स्थल रहेका छन् । यहाँ पुग्ने श्रद्धालुहरूले आध्यात्मिक शान्ति र आत्मिक आनन्दको अनुभूति गर्ने गर्दछन् ।
गङ्गा दशहरा मेला : आस्था र संस्कृतिको उत्सव
हरेक वर्ष ज्येष्ठ शुक्ल दशमीका दिन खप्तडमा लाग्ने गङ्गा दशहरा मेला सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सव हो । यस वर्ष मेला जेठ ९ गतेदेखि सुरु भई जेठ १२ गते गङ्गा दशहराका दिन सम्पन्न हुनेछ । हजारौँ तीर्थयात्री त्रिबेणीधाममा स्नान गर्न पुग्छन् । त्रिबेणीमा स्नान गर्दा पाप पखालिने, पितृलाई तर्पण गर्दा मोक्ष प्राप्त हुने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
मेलाका मुख्य आकर्षणमा देउडा गीत, हुड्के नाच, रनपुतला नाच तथा स्थानीय लोकसंस्कृति पर्दछन् । रातभर गुञ्जिने देउडाको लय, स्थानीय बाजागाजा र सांस्कृतिक प्रस्तुतिले खप्तडलाई उत्सवमय बनाइदिन्छ । पछिल्ला वर्षहरूमा विभिन्न जिल्लाबाट आयोजना हुने सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधिका कारण मेलाको रौनक अझ बढ्दै गएको छ ।
जैविक विविधताको अनुपम भण्डार
वि.सं. २०४३ साल असार ९ गते स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाका भूभाग समेटिएको यस निकुञ्जको उचाइ १,२६२ मिटरदेखि ३,२७६ मिटरसम्म फैलिएको छ ।
खप्तडमा रहेका २२ विशाल पाटनहरूले यस क्षेत्रलाई खुला प्राकृतिक उद्यानको अनुभूति गराउँछन् । यहाँ झुलेसल्लो, खस्रु, भोजपत्र, गुराँस, रानीसल्लो, ठिग्रेसल्लो, निगाला तथा लौठसल्लाजस्ता वनस्पति पाइन्छन् । त्यस्तै कालकुट, पाँचऔँले, सतुवा, नीरमसी, वायुजडी, हत्वाजडी, वनप्याज र गँदाल्नोजस्ता बहुमूल्य जडीबुटीले खप्तडलाई प्राकृतिक औषधिको खानी बनाएको छ ।
वन्यजन्तु तथा चराचुरुङ्गीको दृष्टिले पनि खप्तड अत्यन्त समृद्ध छ । यहाँ दुर्लभ बझाङे पाहा, हरियो छेपारो, खस्रे भ्यागुता, कस्तुरी मृग, चितुवा, भालु तथा बँदेल पाइन्छन् । तथ्याङ्कअनुसार खप्तड क्षेत्रमा २८७ प्रजातिका चराचुरुङ्गी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ प्रजातिका उभयचर जीव अभिलेख गरिएका छन् ।
खप्तड बाबा : अध्यात्मका अमर प्रतीक
खप्तडको आध्यात्मिक पहिचानलाई विश्वसामु चिनाउने मुख्य व्यक्तित्व खप्तड बाबा हुन् । भारतबाट नेपाल आएका उनले इलाम, कालिञ्चोक, मुसिकोट र चन्दननाथ क्षेत्रमा साधना गरेपछि वि.सं. २००३ सालतिर खप्तड पुगेका थिए ।
प्रारम्भिक समयमा आश्रम निर्माण गर्न कठिनाइ भए पनि स्थानीयवासीको सहयोगले उनले आफ्नो तपोभूमि तयार पारे । पछि बझाङका तत्कालीन राजा रामजंगबहादुर सिंहसँग डोटीको सिलगढीमा भेट भएपछि खप्तडमा स्थायी आश्रम निर्माण भएको इतिहास पाइन्छ ।
उनले करिब पाँच दशक खप्तडमै योग, ध्यान, तपस्या तथा जडीबुटी अनुसन्धानमा बिताए । “धर्म विज्ञान”, “विचार विज्ञान” लगायतका पुस्तकमार्फत उनले पूर्वीय दर्शन र आधुनिक चिन्तनबीचको सम्बन्ध उजागर गर्ने प्रयास गरेका थिए । श्रद्धालुहरूले उनलाई “श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज” जस्ता सम्मानसूचक उपाधिले सम्बोधन गरे पनि जनमानसमा उनी “खप्तड बाबा” कै नामले अमर बने ।
पूर्वराजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासँग पनि खप्तड बाबाको विशेष सम्बन्ध रहेको उल्लेख पाइन्छ । राष्ट्रिय समस्या वा व्यक्तिगत तनावका बेला राजा वीरेन्द्र खप्तड पुगेर बाबासँग सल्लाह गर्ने गर्थे भन्ने जनविश्वास आज पनि सुनिन्छ ।
हरेक मौसममा फरक सौन्दर्य
खप्तडको सौन्दर्य हरेक मौसममा फरक रूपमा झल्किन्छ । जेठ–असारमा जंगली फूलले पाटन रंगिन्छन्, असोज–कात्तिकमा हिमशृंखलाको स्वच्छ दृश्य देखिन्छ, पुस–माघमा हिउँले सेताम्मे हुन्छ भने चैत–वैशाखमा गुराँसको राताम्य रंगले जंगल उज्यालिन्छ । यही कारण खप्तड वर्षभरि भ्रमणयोग्य गन्तव्य मानिन्छ ।
पदयात्रा र पर्यटनको बढ्दो आकर्षण
निकुञ्ज मुख्यालय आसपास घुम्न कम्तीमा दुई दिन समय आवश्यक पर्छ । त्रिबेणीधाम, सहर्षलिङ्ग, घोडादाउने पाटन, खापर दह, नागढुङ्गा तथा खप्तड बाबा आश्रम यहाँका प्रमुख आकर्षण हुन् । खापर दह वरिपरि घुम्दा प्रकृतिसँग एकाकार भएको अनुभूति हुन्छ ।
झिग्राना खप्तडको मुख्य प्रवेशद्वारका रूपमा परिचित छ । डोटीको सिलगढीबाट करिब १५ किलोमिटर गाडी यात्रा गरी पहिलो दिन झिग्राना पुगिन्छ । त्यहाँ सञ्चालनमा रहेको खप्तड होमस्टे यात्रुहरूको लोकप्रिय विश्रामस्थल बनेको छ । झिग्रानादेखि बीचपानी पुग्न करिब तीन घण्टा तथा निकुञ्ज मुख्यालय पुग्न करिब सातदेखि आठ घण्टा लाग्छ ।
बझाङको छान्ना, बाजुराको काडा, अछामको साँफेबगर तथा चौखुट्टेबाट पनि खप्तड पुग्न सकिन्छ । पछिल्लो समय खप्तडबाट रारा ताल, बडिमालिका, सैपाल बेसक्याम्प, अपि बेसक्याम्प हुँदै रामारोशनसम्म पदयात्रा गर्ने पर्यटकको संख्ढ्दै गएको छ । साहसिक पदयात्रा, क्याम्पिङ तथा हिमाली संस्कृति अनुभव गर्न चाहनेहरूका लागि यी मार्ग अत्यन्त आकर्षक मानिन्छन् ।
निष्कर्ष
सौग़ात न्युज डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।